काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई थप सुदृढ हुनेगरी मौद्रिक नीति ल्याउने बताएका छन् ।
उनले सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा यस्तो बताएका हुन् । उनले कोरोनाका कारण गिरेको व्यवसायीहरूको मनोबल अझै पनि पूर्णरूपमा उठ्न नसकेको भन्दै निजी क्षेत्रको मनोबल बढाउँदै अर्थतन्त्र सुदृढ हुनेगरी मौद्रिक नीति ल्याउने तयारी भइरहको बताए।
उनले निष्क्रिय कर्जा बढ्नुमा अहिलेको कारण नभई कोरोनाले पारेको असर भन्दै ब्याजदर घट्दा पनि कर्जाको माग बढ्न नसकेको जिकिर गरे। गभर्नर अधिकारीले व्याजदर निर्धारण बजारलाई छाडेकाले राष्ट्र बैंकले हस्तक्षेप नगर्ने र सवैले त्यसलाई स्वीकार गर्नुपर्ने बताए।
आर्थिक शिथिलतालाई समाधान गर्न सामूहिक जिम्मेवारी आवश्यक रहेको र अर्थतन्त्रमा रहेका संरचनात्मक समस्याहरू पनि समाधान गर्नुपर्ने उनको भनाइ छ।