काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
अर्थमन्त्री पौडेलले बुधबार निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रूपमा देखा परेका समस्याहरूलाई हटाउँदै जाने बताएका हुन् ।
उनले समस्याहरूलाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय खोज्ने धारणा व्यक्त गरे ।
निर्यात व्यवसायी महासंघले निर्यात वृद्धिका लागि नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माणको गुरुयोजनाका लागि बजेटको व्यवस्था गर्न, नेपालमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो आयोजना गर्न, निर्यात प्रवर्द्धन तथा वस्तु विकासका लागि अधिकार सम्पन्न बोर्डको स्थापना गर्न माग गरेको छ ।


