काठमाडौं । नेपाल हिमालय सिमापार वाणिज्य संघका पदाधिकारीले भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीसँग परिचयात्मक भेटघाट गरेका छन् ।
हालै संघका अध्यक्ष रामहरि कार्की नेतृत्वको टोलीले पुडासैनीलाई भन्सार विभागमै गएर भेटवार्ता गरेको हो । भेटका क्रममा अध्यक्ष कार्कीले भन्सार मूल्याङकन पुस्तिकामा भएको भन्सार दर भन्दा भन्सार कार्यालयबाट तत्काल जारी हुने भन्सार मूल्याङ्कन दर फरक हुँदा ब्यापारीलाई ठुलो मर्का परेकोले यसलाई तुरुन्तै हटाउन आग्रह गरे । उनले सामान आयात गर्नको लागि ब्यापारीले एलसी खोलिसकेपछि त्यसकै आधारमा मूल्यांकन हुनपर्ने बताए ।
ब्यापारीहरुको दशैं, तिहारलक्षित सामानलाई छिटो भन्दा छिटो बजारमा लानुपर्ने भएकाले दुवै नाकाबाट सरल र सहज रुपमा कन्टेनरहरु छुटाउन भन्सार कार्यालयहरुलाई नियमित गर्न आग्रह गरे । उनले यसअघिका भन्सार प्रमुखहरुले कार्यबाहक नै नदिई काठमाडौं आउने गरेकाले त्यसबाट धेरै मर्का परेको गुनासो गरे ।
महानिर्देशक पुडासैनीले आफू केही समयअघि मात्रै आएकाले सबै कुरा बुझ्न बाँकी रहेको र भन्सार मूल्यांकनलाई एकै बनाउन पहल गर्ने बताए । उनले विभागले ब्यापारीवर्गलाई परेको मर्कालाई सम्बोधन गर्ने आश्वासन दिए ।
अध्यक्ष कार्कीले पछिल्लो समय यी दुवै नाकाबाट दैनिक रुपमा २० २५ काठमाडौं भित्रिने गरेको जानकारी दिए । अहिले यी नाकाबाट मुख्य गरी फलफूल र रेडिमेडका सामान आयात भइरहेको उनले बताए । भेटमा प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठ, उपाध्यक्षहरु सुजित बस्नेत, भरतबहादुर कार्की र महासचिव रामचन्द्र पराजुली, सचिवहरु विकास प्रसाद रिसाल, तुलसी राउत, कोषाध्यक्ष लालबहादुर बस्नेत र सह कोषाध्यक्ष सुमनकाजी श्रेष्ठ सहभागी थिए ।