काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले भारतबाट विद्युत आयात नगर्ने हो भने अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको दावी गरेका छन्।
बिहीवार काठमाडौँमा इप्पानले २५औँ वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन्।
उनले नेपाल जलविद्युतको धनी देश, विद्युत उत्पादनको प्रचुर सम्भावना भए पनि अहिलेदेखि लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको दावी गरे।
उनले भारतले विद्युत दिन छोड्ने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बारम्बार भन्दै आएको बताए। उनले १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न नेपालमा भएको स्रोतलाई लगानीमार्फत विद्युत उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए।


