काठमाडौं । नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । उनले हिजो मात्रै उक्त गीत लोकार्पण गरेका हुन् । ‘कति सुन्दर हुन्थ्यो यात्रा’ भन्ने बोलको गीतमा डाक्टर नीलिमा श्रेष्ठको स्वर र संगीत संयोजक विशेष पौड्यालको रहेको छ ।
विहीबार शुभारम्भ गरिएको गीतमा मिक्सिङ मास्टरिङ भने शीर्षक अर्यालले गरेका छन् । यस गीतमा गीतकार श्रेष्ठले पछिल्लो समय बैवाहिक जीवनमा किन दरार आइरहेको छ ? यसले समाजमा के कस्तो सन्देश दिन्छ ? सम्बन्ध विच्छेदका घटनाहरु किन बढ्दैछन् भन्ने दर्शाउन खोजेका छन् । यसका साथै उमेर पुगेका केटा-केटीहरुले समेत सुहाउँदो जीवनसाथी पाउन नसकेको अवस्थाले गर्दा हाम्रो सामाजिक सांस्कृतिक जैविक चक्र नराम्ररी प्रभावित भएको उल्लेख गरेका छन् ।
उनले गीतमार्फत बिवाह भनेको प्रकृतिको अनुपम देन र जिउने आधार हो भन्दै आफूले रोजेको वा चाहेको जीवनसाथी पाएको खण्डमा यो यात्रा वा सहयात्रा कति सुन्दर हुन्थ्यो भन्ने भाव प्रस्तुत गरेका छन् । गीतले दिन खोजेको मुख्य सन्देशलाई मनन् गर्न सके रचनाले विशेष सार्थकता प्राप्त गर्ने सर्जकले विश्वास लिएका छन् । श्रेष्ठले यसअघि पनि अन्य आधुनिक तथा राष्टिय गीतहरु बजारमा ल्याइसकेका छन् ।
साहित्यमा विशेष लगाव राख्ने श्रेष्ठले उत्कृष्ट रचना गरेबापत धेरै सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।