काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अहिले सरकारमा जान नहतारिएको प्रष्ट पारेका छन् । उनले सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुराकारीका क्रममा यस्तो धारणा राखेका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जनताको मनबाट ढलिसकेको बताए। ‘जादु चलाउन चाहे त चल्छ। तर, अहिले चलाउने पक्षमा हामी छैनौं। अहिले देउवाजीलाई पनि फकाउने पक्षमा छैनौं। यो सरकार आफ्नै बोझले ढल्छ। जनताको मनबाट त ढलिसक्यो’ उनले भने।
उनले माओवादीको ध्यान अहिले जनतामा भएको बताए। त्यसकै निम्ति मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ। ‘सरकार बनाउनतिर हाम्रो ध्यान छैन। हाम्रो ध्यान जनतामा जाने छ। मध्य पहाडी लोकमार्ग अभियानमा हामी जाँदैछौं ’ उनले भने।


