काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले सरकार बिचौलियाको प्रभावमा परेकै कारण राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको आरोप लगाएका छन् ।
पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गभर्नरको विषयलाई राजनीतिकरण गरिएको समेत बताए ।समयमै गभर्नर नियुक्त गर्न नसक्नुले राजनीतिक दलले देश सञ्चालन गर्छन् वा अरु कसैले भन्ने प्रष्ट हुँदै गएको उनले बताए ।
पुनले राष्ट्र बैंकको डेपुटी गभर्नर वा मौद्रीक नीतिमा विज्ञता हासिल गरेकालाई गभर्नर बनाउने गरिँदै आएको स्मरण गराए । तर अहिले स्वार्थ समूहले रुचाएका व्यक्तिलाई गभर्नर बनाउने प्रयास भइरहेको आरोप उनले लगाए ।


