काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाग्रह राखेर भ्रष्टाचार मुद्दा लगाउन पहल गरेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाग्रह राखेर आफूविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लगाउन खोजेको दाबी गरे ।
‘हाम्रो पार्टीको भूमिका महत्वपूर्ण रहेको छ । हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन् । आतङ्कित भएका छन्, पूर्वाग्रह राखेर बसेका छन्,’ अध्यक्ष नेपालले भने, ‘बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण भर्खरै तपाईहरूले सुन्नभयो, ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ ।’