काठमाडौं नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
शनिबार बसेको संसदीय दलको बैठकबाट सरकार छोडेर प्रतिपक्षमा बस्ने निर्णय भएको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार पार्टीका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने भएका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकार छाडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो।