काठमाडौं । केही समयअघि मात्रै सामान्य प्रशासन मन्त्री बनेकी भगवती न्यौपानेले सरकारी कर्मचारीप्रति तिखो टिप्पणी गरेकी छिन् ।
उनले शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा यस्तो टिप्पणी गरेकी हुन् । उनले कर्मचारीहरू आफूलाई तोकिएको नियमित काममा भन्दा पनि लोकसेवा पढ्नमा ब्यस्त देखिएको बताइन् ।
उनका अनुसार, हाजिर गरेर कार्यालय समय लोकसेवा तयारीमै खर्च गर्ने प्रवृत्तिका कारण सरकारलाई अपेक्षित नतिजा दिन कठिन भएको छ। “म मन्त्रालयमा आएपछि देखेँ, धेरै कर्मचारीको सोचाइ आफ्नो पेशागत जिम्मेवारीभन्दा पनि पदोन्नति वा अर्को स्तरको प्रतिस्पर्धा कसरी जित्ने भन्नेमा मात्र केन्द्रित रहेछ,” मन्त्री न्यौपानेले भनिन्।
उनले अझै थपिन्, “यदि सबै तहमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रणालीलाई निरन्तरता दिइयो भने काम गर्नेभन्दा पढ्ने, रट्ने र लोकसेवाको तयारी गर्ने कर्मचारीहरूको संख्या बढी हुने रहेछ, त्यसैले धेरै पदमा खुला प्रतिस्पर्धा उपयुक्त हुँदैन।”


