काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।
एमाले सचिवालय बैठक शुक्रबार पनि बसेको थियो । भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।
बैठकमा पार्टी पुनर्गठन, संसद् पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेका थिए । के गर्ने भन्ने निष्कर्ष निस्किसकेको छैन । पार्टीको महाधिवेशन आउँदो मंसिर अन्तिममा वा पुसको सुरुमा गर्ने गरी प्रस्ताव गरिने सम्भावना छ । महाधिवेशनको मिति केन्द्रीय कमिटीले तोक्नेछ ।


