काठमाडौं ।अध्यागमन विभागले नेपाल भ्रमणमा आउने विदेशी नागरिकको सुरक्षा र गतिविधि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने भएको छ ।
विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ विकास गरी आगामी २०८२ पुस १७ ९सन् २०२६ जनवरी १० देखि अनिवार्य रूपमा कार्यान्वयनमा ल्याएर विदेशी नागरिकहरुको गतिविधि अनलाइनबाटै निगरानी गर्न लागेको हो ।
नयाँ व्यवस्था अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका सबै तारे होटलले विदेशी पर्यटकको विवरण यस प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ । विभागले जारी गरेको कार्ययोजना अनुसार दोस्रो चरणमा २०८२ फागुन १७ देखि देशभरका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स र मनी एक्सचेञ्जरमा विस्तार गरिनेछ । सबै प्रकारका होटल, गेष्ट हाउस र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सार्वजनिक तथा निजी क्षेत्रका हरेक निकायलाई यो प्रणालीको दायरामा ल्याउने सरकारको तयारी छ ।


