काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ । आयोगले आइतबार उनीहरुले बाख्रा पालन अनुदानको नाममा पौने २४ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै मुद्दा चलाएको हो ।
आर्थिक वर्ष २०७८–०७९ मा सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानअन्तर्गत सञ्चालन गरिएको ‘नागार्जुन दानेश्वर आधुनिक बाख्रा फार्म निर्माण’ योजनामा व्यापक अनियमितता भएको पाइएको अख्तियारले जनाएको छ । अनुसन्धानबाट योजनामा २३ लाख ७५ हजार रुपैयाँ सरकारी रकम बदनियतपूर्वक हिनामिना गरिएको आयोगका सहसचिव एवम प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।


