काठमाडौं । आज महाशिवरात्रि पर्व पशुपतिसहित देशभरका शिवालयहरुमा आज शिवको पूजा, आराधना गरी शिवरात्रि पर्व मनाइँदै छ। महाशिवरात्रिमा भगवान् शिवको पूजा आराधना गर्ने परम्परा छ।
पशुपति मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि ठूलो संख्यामा भक्तजन पुगेका छन्। जसले पशुपति क्षेत्रको रौनकता बढाएको छ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र यतिबेला निकै व्यस्त देखिएको थियो ।
यस वर्षको महाशिवरात्रिका दिन कम्तीमा पनि आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको र करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए ।


