काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिका ३ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट अवैध रूपमा माटो उत्खनन गरी बिक्री गरेकोको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र ठेकेदार दिनेश यादवविरुद्ध १० लाख ८ हजार ७०३ रुपैयाँ ७४ पैसा भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले दायर गरेको अभियोगपत्र अनुसार विद्यालयको नाममा रहेको कित्ता नं. २९५ र १४२ को करिब १ बिघा १० कठ्ठा १० धुर जग्गालाई खेतीयोग्य बनाउन सम्याउने भनी विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो ।


