काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले भदौ २३ र २४ गतेको तोडफोड, हत्याहिंसा, आगजनी र लुटपाटका घटनालाई सरकारले वैधानिकता दिएको आरोप लगाएका छन्।
उनले मंगलबार पार्टीनिकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विभिन्न शक्तिहरूले संवैधानिक हिसाबले ढाल्न नसकेपछि उपद्रवको बाटो रोजेको बताए।
उनले भने, ‘हामीले देशलाई अगाडि बढाउन खोज्यौँ। भुईँचालोले ध्वस्त पार्यो, हामीले त्यसलाई उठायौँ। कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ। अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ।’ उनले शिक्षा, स्वास्थ्य, खेलसहितका क्षेत्रलाई अगाडि बढाउने प्रयास गरेपछि सह्य नभएर आफूलाई हटाएको उनको जिकिर छ।


