काठमाडौं । सरकारले २३ सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले गरेको सरुवा सूची अनुसार यसै वर्षभित्र अनिवार्य अवकासमा जाने सहसचिवलाई भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा थन्क्याइएको छ ।
यसरी सामान्यको बरण्डामा सरुवा भएका सहसचिवहरुमा शंकरहरि आचार्य, विनोद लामिछाने, राजेन्द्रदेव पाण्डे, रुदप्रसाद लामिछाने,चन्द्रबहादुर शिवाकोटी र कृष्णबहादुर शाही रहेका छन् ।
आचार्यबाहेक अरु सबै सहसचिवहरु यसै आर्थिक वर्षभित्र अनिवार्य अवकासमा जाँदैछन् । आचार्य राष्ट्रिय महिला आयोगमा थिए भने विनोद लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शासकीय सुधार तथा सुशासन महाशाखा प्रमुखमा कार्यरत थिए । यसैगरी पाण्डे नेपाल ट्रष्टको कार्यालयबाट अतिरिक्तमा थन्क्याएका छन् । थारु आयोगमा रहेका रुदप्रसाद लामिछाने पनि सामान्यको बरण्डामा पुगेका छन् ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत रहेका अर्का सहसचिव शाही पनि हालैको सरुवामा बरण्डा पुगेका छन् । अतिरिक्तमा थन्क्याएका अर्का सहसचिव सिवाकोटी युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयको कार्यकारी निर्देशक थिए ।


