काठमाडौं। विश्वका अग्ला हिमालहरूमध्ये एक मानिने पाकिस्तानको ब्रोड पिकको हिमपहिरोमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० सदस्यीय पर्वतारोहण टोली बेपत्ता भएको छ ।
पाकिस्तानको पर्वतारोहणसम्बन्धी संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) ले ब्रड पिकमा करिब ८ हजार ४७ मिटर उचाइमा हिमपहिरोले आरोहीहरूको टोलीलाई प्रभावित पारेको जानकारी प्राप्त भएको जनाएको छ।
एसीपीका अनुसार उक्त टोलीमा प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेका पाँच नेपाली आरोही, पाकिस्तानका सोहेल साखी, ओमानकी पर्वतारोही नथिरा, अमेरिकी आरोही म्यालोरी गाइस, चीनका वाङ तथा अर्का एक विदेशी आरोहीसहित १० जना रहेका छन्।
अल्पाइन क्लब अफ पाकिस्तानका वरिष्ठ उपाध्यक्ष करार हैदरीका अनुसार स्कार्दु सहरबाट एउटा हेलिकप्टर उड्ने तयारीमा छ। क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शदले खोजी तथा उद्धारका लागि सरकारी अधिकारीहरूसँग निरन्तर सम्पर्क भइरहेको बताएका छन्।


