काठमाडौं । हिजोबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आजबाट केँद्रीय सदस्यहरुले धारणा राख्ने कार्यतालिका रहेको छ ।
आज बिहान ११ बजेबाट सुरु हुने बैठकमा केन्द्रीय समितिका सदस्यले धारणा राख्नेछन्। प्रत्येक केन्द्रीय समिति सदस्यहरुलाई बोल्नका लागि ७ मिनेटको समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन्। कांग्रेसले पहिलो पटक केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रशारण गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक नेताहरुले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो। मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डाहरु प्रस्तुत गरेका थिए।
त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए । त्यसैगरी पार्टी उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएका थिए।


