काठमाडौं । एनसेल प्रकरणबारे चौतर्फी प्रश्न उठ्न थालेपछि सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवारको कुनै पनि संलग्नता नरहेको प्रष्टीकरण दिएकी छिन् ।
उनले एनसेल खरिदबिक्रीका सम्बन्धमा सरकारको तर्फबाट जारी प्रेस विज्ञप्ति वाचन गर्दै यस विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन हुने बताइन् । विज्ञप्ति सार्वजनिकपछि सञ्चारकर्मीहरुले सोधेको जिज्ञासामा वर्तमान प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री देउवाका परिवारका सदस्यहरुको संलग्नताका विषयमा मिडियामा आएका समाचारहरुमा सत्यता नरहेको मन्त्री शर्माले जानकारी गराइन् ।


