काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार बनेपछि कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्रलाई पुरानै लयमा फर्काएको तर्क गरेका छन् ।
प्रधानमन्त्री दाहालले नुवाकोटको विदुरमा शुक्रबारदेखि सुरु आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको दाबी गरेका हुन्।
‘अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्’, उनले भने, ‘देश र विदेशका विभिन्न निकाय तथा सरोकारवालासँग निरन्तरको बहसका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको थुप्रै प्रयासले सङ्कटमा पुगेको अर्थतन्त्र लयमा ल्याउन सफल भएका हौँ।’


