काठमाडौं ।सरकारमा सहभागी ५ राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो।
‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता आक्रोश र नकारात्मक सोचमा परिवर्तन गरी सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धि रक्षा गर्ने उल्लेख छ ।
संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा प्रकट विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहिनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने उल्लेख गरिएको छ ।


