काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक सुधारलाई तीब्र रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आज काठमाण्डौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका स्पष्ट सकेत देखिएको बताएका हुन्। बजारमा देखिएको सुधारलाई ध्यान दिएर स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र बीच थप सहकार्यका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे।
देशभित्र सेयर बजारमा उत्साह छ भने घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको र कर्जाको मागमा पनि सुधार भइरहेकाले यसलाई अझै चलायमान बनाउन आवश्यक रहेको अध्यक्ष ढकालले उल्लेख गरे। पर्यटक आगमन बढिरहेको, रेमिट्यान्समा हालसम्मकै उच्च देखिएको, विदेशी मुद्राको सञ्चिति पर्याप्त हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा भएकाले लगानीकर्ताहरुलाई विश्वासमा लिई काम गर्न सहज वातावरण रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे।


