काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले अहिले बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । उनले आज संघको ३८औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
अर्थतन्त्रमा आएको सिथिलताका कारण कर्जा माग बढ्न नसकेको र अहिलेको अवस्थामा बैंकिङ क्षेत्रले सकस भोग्नुपरेको उनको भनाइ छ । ‘‘तरलतामा देखिएको असमानताले पनि समस्या पारेको छ । अहिले हामी सात सय अर्ब लगानीयोग्य रकम बोकेर बसेका छौँ,’’ उनले भने, ‘‘बेलाबेलामा तरलता कहिले बढी हुने कहिले कम हुँदै आएको छ । कर्मचारी बाहिरिने क्रम बढेको छ । यसले बैंकिङ क्षेत्रमा समस्या निम्त्याएको छ । यो हाम्रा लागि ठूलो चुनौती हो ।’’
तर, नेपाल राष्ट्र बैंकले लिने नीतिका कारण बैंकिङ क्षेत्रलाई केही हदसम्म सहज भएको उनको भनाइ छ । केसीको संघ अध्यक्षको दुई वर्षको कार्यकाल आजबाट नै सकिँदै छ ।
संघमा २० वटा वाणिज्य बैंकका सीईओहरू सदस्य हुने व्यवस्था छ ।


