काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार निजी क्षेत्रमा देखा परेका समस्यालाई समाधान गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
मन्त्री पौडेलले सोमबार नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक वर्ष २०८२(८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजेट तर्जुमाका लागि प्रस्तुत सुझाव ग्रहण गर्दै आज अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्व राम्रोसँग बुझेकै कारण सरकारले अधिकतम सहजीकरण गरिरहेको उल्लेख गरे ।
उनले भने, ‘वर्तमान सरकार गठन भएलगत्तै निजी क्षेत्रले लामो समयदेखि भनिरहेका समस्या अन्त्य गर्न कानुन संशोधनलगायत महत्वपूर्ण प्रयास भएका छन् । त्यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय लिएर अघि बढिरहेका छौँ । आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनलाई सरकारले आत्मसात गर्नेछ ।’


