काठमाडौं । अन्ततः वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालको सरुवा भएको छ । उनलाई सोमबारको मन्त्रिपरषदको बैठकले राष्ट्रिय समावेशी आयोगमा सरुवा गरेको हो । दाहाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले फागुन तेस्रोसाता विभागको महानिर्देशकको जिम्मेवारीमा खटाएका थिए । बजारमा हुने विकृति नियमन गर्ने दायित्व रहेको विभागमा हक्की स्वभावका दाहाल धेरै सयम नटिक्ने अनुमान त्यतिबेलै गरिएको थियो ।
महानिर्देशक भएसँगै उनी एमआरपी अनिवार्य लागू तथा बजार अनुगमनमा कडाइ गर्दै ठगी गर्नेलाई कानुनी कारबाहीको दायरा ल्याउन काममा निकै सक्रियतापूर्वक लागेका थिए । उनले शैक्षिक संस्थाहरुमा समेत अनुगमन गर्न लागेपछि निकै नै तहल्का मच्चिएको थियो । ती शिक्षण संस्थाका पदाधिकारीहरुले मन्त्री दामोदर भण्डारीलाई भेटेरै दाहाललाई महानिर्देशकबाट हटाउन दबाव दिएका थिए । उनले देशभर करिव १० हजार शैक्षिक परामर्श केन्द्रमध्ये आधाभन्दा बढी संस्था अनुमति बिनै सञ्चालनमा रहेका र यस्ता संस्थालाई आवश्यक कारबाही गर्ने बताएका थिए ।
त्यसअघि उनी नेपाल ट्रष्टको कार्यालयमा कार्यरत थिए । दाहाल २०७३ सालमा पनि विभागको महानिर्देशक बनेका थिए ।


