काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले संगठन निर्माणको निम्ति आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको बैठकलाई आज भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखेका थिए । उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई सङ्गठनमा रूपान्तरण गर्न सके मात्रै दीर्घकालीन उपलब्धि सम्भव हुने बताए ।
अध्यक्ष दाहालले भने, ‘अब सबै नेता–कार्यकर्ताले गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ, पार्टीभित्र आत्मसमीक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्छ । विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता छ ।’


