काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्।
विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड आज साँझ दिल्ली जान लागेका उनको सचिवालयले जनाएको छ।
तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीको एकता भएपछि उनी पहिलो पटक भारत जान लागेका हुन्। सोमबार लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने र नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गरिने नेपाली समाज भारतका महासचिव आरबी खड़काले जानकारी दिए।


