काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाउने अधिकारी व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएको बताएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको बताए ।
पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ ।


