काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन नहुने दावी गरेका छन् ।
विशेष महाधिवेशनलाई लिएर विवाद चर्किँदै गएको बेला महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सो धारणा सार्वजनिक गरेका हुन् ।
‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन, त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबभन्दा पहिला विश्वप्रकाश शर्मा बाहिर निक्लनेछ। अनि सबै सँगै निक्लौंला । पार्टीलाई विभाजन हुनबाट जोगाउँला ।’ उनले भने,‘विधानमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु भनेको पार्टीको विभाजन गर्नु होइन, बरु पार्टीको विधानको रक्षा गर्नु हो।’
शर्माले आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुपर्ने बताए।


