राप्रपाको चुनावी घोषणापत्र ः राजसंस्था अभिभावकीय संस्थाको रूपमा र सर्वधर्म समभावसहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र
काठमाडौं । राप्रपाले प्रदेश खारेजी हुनुपर्ने अडान राखेको छ । उसले आज चुनावी संकल्प पत्र सार्वजनिक गर्दै यस्तो योजना अगाडि सारेको हो । यसका साथै उसले भ्रष्टाचार नियन्त्रण, जलस्रोत र ऊर्जाको विकास, शिक्षा र स्वास्थ्यमा सुधार, र पर्यटन प्रवर्द्धन गर्ने योजनाहरू अघि सारेको छ।
।
‘सबल, समृद्ध र समुन्नत नेपाल – पृथ्वी पथ’को मूल नाराका साथ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार राजधानीमा आयोजित कार्यक्रमका बिच संकल्प पत्र सार्वजनिक गरेका हुन् । राप्रपाले अहिलेको प्रदेश तहलाई पूर्ण रूपमा खारेज गर्दै केन्द्र र बलियो स्थानीय तहसहितको दुई तहको शासकीय संरचनाको प्रस्ताव अघि सारेको छ। विशेष गरी स्थानीय तहलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन गैरदलीय आधारमा निर्वाचन गर्ने एजेन्डालाई पार्टीले प्राथमिकताका साथ उठाएको छ।
पार्टीको राजनीतिक दर्शनका रूपमा ‘संवर्धनवाद’ लाई अघि सार्दै राप्रपाले अभिभावकीय संस्थाको रूपमा राजसंस्था र सर्वधर्म समभावसहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रको पुनर्स्थापनालाई आफ्नो मुख्य लक्ष्य बनाएको छ।


