काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सटर कवल भाडाबापतको आम्दानी बुझिलिई बैंक दाखिला नगरी आम्दानी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टिकाराम ढकालविरुद्ध ६४ लाख २८ हजार चार सय ३७ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
अनुसन्धानबाट उक्त अवधिमा कुल चार करोड १८ लाख ४ हजार ३०३ रुपैयाँ राजस्व संकलन भएको देखिए पनि त्यसमध्ये केवल एक करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्र बैंक खातामा दाखिला गरिएको खुलेको छ । बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ राजस्व हिनामिना गरिएको आयोगको निष्कर्ष छ ।


