काठमाडौं । मुस्ताङको कोरोला नाकाबाट हिजो राति भन्सार विभागले दुई वटा गाडी नियन्त्रणमा लिएको छ। गाडीमा अवैध रूपमा विद्युतीय चुरोट ‘भेप’ ल्याइएको आशंकामा नियन्त्रणमा लिइएको विभागीय स्रोतले जनाएको छ।
हाल गाडी भन्सार विभागको नियन्त्रणमा रहेको र खोलेर छानबिन भइरहेको बताइएको छ । स्रोतका अनुसार ती गाडीमा करिब एक लाख पिस भेप रहेको आशंका छ। नेपालमा भेप प्रतिबन्धित रहेको छ ।
कोरला नाकाबाट गत वर्षको पुस २८ गते पनि दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको थियो । यसअघि तातोपानी र रसुवा नाकाबाट केही सीमित ब्यापारीहरुले कर्मचारीसँगको मिलोमतोमा नेपाल ल्याएका भेप भन्सार विभाग र राजस्व अनुसन्धान विभागले धेरैपटक बरामद गरेका थिए । अहिले ती नाकाहरुमा तुलनात्मक रुपमा अलि कडा गरिएसँगै तस्करीहरुले मुस्ताङ नाका प्रयोग गर्न थालेको स्रोतले उल्लेख गरेको छ ।
गत वर्ष भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएपछि करिब ६ महिना बन्द रसुवा नाका बन्द भएको थियो । यही मौकालाई छोपेर रसुवा नाकाबाट ब्यापार गर्दै आएका ब्यापारीहरुले रमेश खड्कालाई भन्सार प्रमुख बनाएर लगेको चर्चा चलेको थियो । पछिल्लो समय यो नाका तस्करीको ट्रान्जिट प्वाइन्ट जस्तै बन्दै गएको छ ।


