काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ।
नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङ र प्रहरीको गोली बाट मृत्यु भएका ओमप्रकाश मेहता जयप्रकाश मेहताका अभिभावकबीच गएराति सम्झौता भएको हो।
सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने सहमति भएको छ।
आइतबार राति एक समुदाय कोशी ब्यारेज डिजे बजाउँदै र नाचगान गर्दै देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज चोकतर्फ जाँदै थिए । डिजेको चर्को आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले प्रतिक्रिया जनाए । यही विषय एकैछिनमा भनाभन हुँदै विवाद भयो र झडपमा परिणत देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।


