काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आज बसेको बैठकले सुरक्षा निकायका जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।
सरकारले विपद्को समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम चालेको हो।
विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने टोलीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु अपरिहार्य भएकाले सरकारले यो सुविधा परिमार्जन गरेको हो।


