स्यानहोजे । अमेरिका भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुन र सिलिकन भ्याली वरपर रहेका नेपाली समुदायबीच स्यानहोजेस्थित एभरेष्ट क्यूजिनमा एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना र यसले गरेका कामहरुको बारेमा नेपालीहरुलाई जानकारी गराएका थिए । संसारका विकसित मुलुकहरुले इनोभेसन मार्फत नै विकास गरेको र विकसित दर्जामा पुगेको बताउँदै नेपालमा भने सरकारी क्षेत्रवाट उपेक्षा गरिएको अनुभव सुनाए । सन् २०१७ देखि मैले नेपालका सरकारी मान्छेहरुलाई राष्ट्रिय आविष्कार केन्द्रको बारेमा भन्न छोडिदिएँ किनकि इनोभेसन भन्ने कुरा नेपालको राजनीतिक र प्रशासनिक अधिकारीको कल्चरमा नै छैन, डा. पुनले आफ्नो तीतो अनुभव सुनाए । उनले संसारभरका नेपालीलरुले विभिन्न माध्यमबाट आविष्कार केन्द्रमा जोडिन सक्ने बताउँदै इच्छा शक्ति भएका युवाशक्ति र उनीहरुको आइडिया आवश्यक रहेको र त्यसबाट मात्र देशको विकास संभव भएको उनले बताए ।
कार्यक्रममा मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेले डा. पुनले नेपालको दूरदराजका गाउँहरुमा इन्टरनेट विस्तारमा पुर्याएको योगदान अतुलनीय रहेका बताए । युनिभर्सिटी अफ स्यानफ्रयान्सिस्कोका सहप्राध्यापक डा. टीका लम्सालले पुन जस्तो वैज्ञानिक नेपालले पाउनु गौरवको विषय भएको र संसारभर छरिएर बसेका नेपालीका लागि डा. पुन उदाहरण बनेका उल्लेख गरे ।
कार्यक्रममा युवा समाजसेवी प्रिन्स युवराज कार्की, वरिष्ठ पत्रकार रवि अधिकारी, सरोज काफ्ले, स्काइलेक्स इमिग्रशनका मिखिल एर्सेन्टिभ लगागतले आफ्नो धारणा राख्नुभएको थियो ।
स्टेट विधायकवाट सम्मान
यसैबीच, क्यालिफोर्निया राज्यका विधायक एलेक्स ली ले नेपालको दूरदराजका गाउँहरुमा वाएरलेस नेटवर्क विस्तारमा डा. महावीर पुनले पुर्याएको योगदानको कदर गदै सम्मान गरेका छन् । पुनसँगै नेपाली समुदायका अग्रज व्यक्तित्व नारायण सोमनामी र एभरेष्ट क्यूजिनका डाइरेक्टर सागर थापा र धिरज कार्की पनि क्यालिफोर्निया राज्यका विधायक एलेक्सवाट सम्मानित भएका छन् । लामो समयदेखि समाजसेवामा सकृय रहेका सोमनामीले राज्यका विधायकवाट सम्मान पाउनु आफ्नो लागि मात्र नभएर नेपाली समुलायको लागि पनि खुशीको विषय भएको प्रतिकृया दिएका छन् । समाजमा निस्वार्थ भावले काम गर्दा यहाँको राज्यले पनि रिकक्गनाइज्ड गरेका बताउँदै सोमनामीले भने मलाई यो सम्मान पाउछु भन्ने लागेकै थिएन । शान्तारोजा र आसपासमा नेपाली रेष्टुरेष्ट संचालन गरि नेपाललाई परिचित गराउन सफल ब्यापसायी सोमनामी एनआरएनए अमेरिकाका सल्लाहकार समेत हुन् ।
आजै डा. पुनले स्याण्डफोर्ड युनिभर्सिटीमा आयोजना गरिएको कार्यक्रममा पनि राष्टिय आविष्कार केन्द्र र यसका आगामी योजनाहरुको बारेमा त्यहाँका विद्यार्थी एवं प्राध्यापकहरुसँग अन्तरकृया गरेका थिए ।


