काठमाडौं । विनाविभागीय मन्त्री दामोदर भण्डारीले नेपाली शैक्षिक परामर्श क्षेत्रमा रहेका समस्याहरु नयाँ शिक्षा ऐनमार्फत समाधान गरिने बताएका छन् । उनले शनिबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘अहिले २०२८ सालको शिक्षा ऐनले नेपालको शिक्षा क्षेत्र चलायमान छ । थोत्रो ऐनलाई बेला मौकामा टालटुल पारेर काम चलाउने गरिएको छ । यसरी धेरै समय चल्दैन ।’ ‘अब छिट्टै नयाँ शिक्षा ऐन आउँदै छ । उक्त ऐनमा यो क्षेत्रका समस्याहरु पनि समेटिन्छन् । आवश्यक पर्यो भने तपाईँहरुसँग पनि छलफल गरेर निष्कर्शमा पुगौंला ।’
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष प्रकाश पाण्डेले उपस्थित सबैलाई स्वागत गर्दै परामर्श क्षेत्रका समस्याहरुबारे जानकारी गराएका थिए । पाण्डेले औल्याएका विषयहरुबारे आफू जानकार रहेको भन्दै मन्त्री भण्डारीले समस्या समाधानका लागि आफूले सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


