काठमाडौं। सिन्धुपाल्चोकको जुगल गापा ३ मा सीता हाइड्रोपावरले निर्माण गर्न लागेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाले लापरवाही गरेकै कारण एक बालिकाले ज्यान गुमाएको स्थानीयले आरोप लगाएका छन्।
पीडितहरुले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजनाका लागि आवश्यक विद्युत प्रवाह गर्ने लाइनका तारहरु लापारवाही छाडेका कारण दुर्घटना भएको बताएका हुन्। गत फागुन १५ गते आयोजनाको लाइनले बारीमा काम गरिरहेकी १४ वर्षिया किशोरी नोर्जी वाङ्मु लामाको मृत्यु भएको थियो। उनको दाइ राजमान लामा र आमा सोमरानी तामाङ घाइते भएका थिए।
राजनीतिक शक्तिको आडमा सीता हाइड्रोपावरले जलविद्युत आयोजना तोडफोड गरेको एकतर्फी आरोप लगाइ करोडौं बिगोसहित उल्टो मुद्दा लगाएको स्थानीयले आरोप लगाए।
स्थानीयले भने मृतकको क्षतिपूर्ति र स्थानीय लगाइएको मुद्दा फिर्ता लिन माग गर्दै आएका छन्। स्थानीयले आयोजना सुधार गरेर मात्र संचालन गर्न माग गरेका थिए। तर, १४ गते पुनः लाइन मर्मत नै नगरी संचालनमा ल्याइयो। जसका कारण १५ गतेको दुर्घटना हुन पुगेको स्थानीयको भनाइ छ।
संचालक सीताराम तिमल्सिनाले डेढ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारी दिने आश्वासन दिए पनि त्यसपछि उनी सम्पर्कमा नै नआएको स्थानीयको आरोप छ ।


