काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दलका शीर्ष नेताहरु आज चितवनको आमसभामा सहभागी हुने भएका छन् । उनीहरु आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज चितवनमा सत्तापक्षीय चार दलको संयुक्त आमसभालाई सम्बोधन गर्न चितवन जान लागेका हुन् ।
दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय भएको हो। आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसहित अन्य ३ पूर्वप्रधानमन्त्री जाँदैछन्।
चुनावीसभालाई प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी हुँदैछन्।
नागरिकतासम्बन्धी मुद्दामा अदालतले रविको नागरिकत अवैध ठहर गरेसँगै उनको सांसद पद खारेज भएको थियो। रविको पद गएसँगै रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। चितवन २ मा रविसहित विभिन्न दलकासहित २२ जनाको उम्मेदवारी दर्ता भएको छ।


