काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब गरिबीको कारणले कुनै पनि मानिस उपचारबाट बञ्चित हुन नपर्ने बताएका छन् ।
मन्त्री बस्नेतले शनिबार सिन्धुपाल्चोकको हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।
साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाउने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उनले बताए। मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने र पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम बताए। उनले आफूले सांसद भएदेखि नै प्रदेश सरकारसमक्ष यहाँका समग्र समस्या अवगत गराउँदै आएको दाबी गरे।


