काठमाडौं । आजबाट नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुको महाधिवेशन सुरु हुने भएको छ ।
निस्शुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित अखिलको २३ औँ राष्ट्रिय महाधिवेशन हुन लागेको हो । जो २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ ।
‘यो महाधिवेशनको मुख्य उद्देश्य भनेको नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्सीय केन्द्रीय समिति गठन गर्नेछ,’ अध्यक्ष सुनिता बरालले जानकारी दिँदै भनेकी छिन, ‘तीनवटा केन्द्रीय आयोग पनि निर्माण हुनेछन्, जुन आयोगमा १५ जना सदस्य हुनेछन् ।’ उनका अनुसार सहमतीबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ ।
मंगलबार अपराह्न १२ः३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा सहभागी हुन देशभरिबाट १०८० प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिइन् ।


