काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकालाई आज (शनिबार) आयोगले निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई शनिबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
स्थानीय निर्वाचनका लागि ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ भने नेपाली कांग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना लाईउम्मेदवार बनाएको छ त्यसैगरी जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ ।
यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।