उत्तर कोरियाली तानाशाह किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाले शत्रुतापूर्ण नीति त्यागे मात्र युद्धको औपचारिक अन्त्यका लागि आफूहरु वार्तामा बस्न तयार हुने बताएकी छन् ।
कोरिया युद्ध अन्त्यको औपचारिक घोषणा गर्न दक्षिणका अधिकारीहरुले प्रस्ताव गरेपछि त्यसको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनी उत्तर कोरियाली राजनीतिमा प्रभावशाली व्यक्ति मानिन्छिन्
कोरियाली प्रायद्वीपलाई दुई मुलुकमा विभाजन गर्ने कोरिया युद्ध सन् १९५३ मा समाप्त भएर युद्धविराममार्फत लडाइँ रोकिए पनि शान्ति सन्धि भने भएको छैन ।
त्यसयता यी दुई मुलुक प्राविधिक हिसाबले युद्धमै छन् । उनीहरुबीचको सम्बन्ध प्रायः तनावपूर्ण हुने गरेको छ ।