काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्देशन दिएका छन्।
उनले आफ्नो अध्यक्षतामा शनिबार आयोजित ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौती उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।
त्यस्तै उनले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए।