काठमाडौं भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधबार नेपालका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथिको उपाधि प्रदान गरेका छन्।
राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष कार्यक्रमबीच शर्मालाई उक्त उपाधि प्रदान गरिएको हो। भारतीय स्थल सेनाध्यक्ष एमएम नरवाणेको औपचारिक निमन्त्रणामा शर्माले मंगलबारदेखि भारत भ्रमण सुरु गरेका हुन्। भारत र नेपालका सेनाध्यक्षले एक अर्काको देशमा गएर मानार्थ उपाधि लिने चलन छ। सन् १९५० देखि यो चलन सुरु भएको हो। शर्मा गत भदौमा प्रधानसेनापति नियुक्त भएका हुन्।
उनले भारतीय रक्षा सचिव अजय कुमार, चिफ अफ आर्मी स्टाफ विपीन रावत, एयर चिफ मार्सल भीआर चौधरीलगायतसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। शर्मा शनिबार स्वदेश फर्कने छन्।