काठमाडौं । भारतीय राजदूत बिनयमोहन क्वात्राले आफ्नो बिदाइको लागि आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीसहितका शीर्ष नेताहरु सहभागी भएका छन् । । मंगलबार साँझ गठबन्धन बैठक चलिरहेकै बेला बालुवाटारबाट बाहिरिएका देउवा भारतीय दूतावासमा पुगेका थिए ।
राजदूत क्वात्रालाई भारत सरकारले विदेश सचिवमा बढुवा गरेको थियो । चाँडै दिल्ली फर्किन लागेका क्वात्रालाई बिदाइ गर्न आयोजित रात्रीभोजमा सहभागी हुन देउवा दूतावास गएको बताइएको छ । दूतावास स्रोतले भने बिदाइका अवसरमा क्वात्राले रात्रीभोज आयोजना गरेको र त्यसमा प्रधानमन्त्री पनि सहभागी भएको बताए ।
रात्रीभोजमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए । बालुवाटारमा बैठक चलिरहेका बेला शीर्ष नेता बाहिरिएर दूतावास पुगेका हुन् ।
रात्रीभोजमा निम्ता गरिए पनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भने प्रोटोकलका कारण दूतावास गएनन् । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि गएनन् । । एमालेका तर्फबाट उपाध्यक्ष शुभाष नेम्वाङ दुतावासको भोजमा सहभागी थिए ।