काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले वैकल्पिक राजनीति सस्तो र कमजोर नभएको बताएका छन् । राजनीतिक भेटघाटलाई गलत ढंगले प्रचार गरिएको भन्दै उनले विवेकशील आन्दोलनलाई सिध्याउने प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
उनले आफूलगायत एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको भनेर गलत हल्ला फैलाइएको गुनासो समेत गरेका छन् । म र हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भेटेर राष्ट्रिय राजनीतिबारे छलफल गरेका छौँ। सुझाव दिएका छौँ।’
हरेक भेटमा हरेक नेताहरूसँग नागरिकको मुद्दामा कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल गर्ने गरेको उनको भनाइ छ । ‘केहि दिन अघि एउटा राजावादी पार्टीका नेतासँग भेट भएको थियो। त्यो भेटमा पनि हामी कसरी नागरिकको जीवनस्तरसँग जोडिएका विषयमा सँगै देशको लागी काम गर्न सकिन्छ भनेर छलफल भएको थियो। कुनै फोटो मिडियामा आउँछ, कुनै आउँदैन’, उनले भनेका छन् ।