काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम विभागले जनाएको छ । अहिले ६ वटा प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ ।
मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोसी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
विभागले आज राति मधेस र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने विभागले जनाएको छ ।


