काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू नै गएर उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट आज बिहान नेपाल ल्याएका हुन्।
परराष्ट्रमन्त्री साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए।
‘इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरूलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ । जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गर्नुभएकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ ।’
परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिएका छन् ।


