काठमाडौं । आज छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो पर्व विधिवत रुपमा सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन् । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । छठ पर्व मुख्य रुपमा नेपालको तराई भूभागमा मनाउने प्रचलन रहे पनि पछिल्लो समय काठमाडौं उपत्यकामा समेत यो पर्व मनाउन थालिएको छ ।


